prakriti Media Nepal

Day: १ माघ २०८२ १६:५०

राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी अगुवा रवि किरणलाई बोलायो

राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी अगुवा रवि किरणलाई बोलायो

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षति सम्बन्धमा अनुसन्धान प्रयोजनका लागि रवि किरण हमाललाई छलफलमा उपस्थित हुन अनुरोध गरेको छ। आयोगले माननीय सदस्य डा. लीलि थापाको संयोजकत्वमा गठित अनुसन्धान समितिमार्फत उक्त घटनाको अध्ययन गरिरहेको जनाउँदै, २०८२ भदौ ३० गते बिहान ११ बजे हरिहर भवन, पुल्चोकस्थित आयोगको केन्द्रीय कार्यालयमा छलफलका लागि उपस्थित हुन पत्राचार गरेको हो। छलफलमा प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार, राहत तथा क्षतिपूर्ति, साथै राज्य पक्ष र सरोकारवाला निकायबाट भएका पहलहरूबारे जानकारी लिने उद्देश्य रहेको आयोगले जनाएको छ। हमालले मानव अधिकार आयोग समक्ष उपस्थित भएर आफ्नो कुरा राख्ने बताएका छन्।
Read More
कांग्रेस कार्यवाहक सभापतिदेखि जेनजी आन्दोलनका अगुवा सुर्खेत-१ मा भिड्दै

कांग्रेस कार्यवाहक सभापतिदेखि जेनजी आन्दोलनका अगुवा सुर्खेत-१ मा भिड्दै

सुर्खेत -  सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ। नेपाली कांग्रेसका कार्यवाहक उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका धुर्वबहादुर शाही, नेपाली कम्युनिस्ट पार्टीका जितबहादुर राना तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमाल चुनावी मैदानमा आमनेसामने उत्रिदै छन्। देशकै ठूलो दल नेपाली कांग्रेसका शीर्ष नेतादेखि ‘जेनजी आन्दोलन’मार्फत राष्ट्रिय पहिचान स्थापित गर्न सफल रवि किरण हमालसम्मको उपस्थितिले सुर्खेत–१ को निर्वाचनलाई विशेष चासोको विषय बनाएको छ। बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि कांग्रेस र एमालेले वर्चस्व जमाउँदै आएको यो निर्वाचन क्षेत्रमा २०६४ सालको निर्वाचनमा समेत माओवादीले जित हात पार्न सकेन। यही ऐतिहासिक पृष्ठभूमिमा यसपटक राप्रपाका उम्मेदवार हमालले पुराना र स्थापित नेताहरूलाई कडा चुनौती दिने तयारी गरेका छन् । पटक–पटक निर्वाचित हुँदै आएका पूर्णबहादुर खड्काप्रति सुशासन र विकासका सवालमा अपेक्षित परिणाम नआएको भन्दै मतदातामा असन्तोष देखिन्छ। त्यस्तै, एमालेका उम्मेदवार धुर्वबहादुर शाही पनि निर्वाचित भए तापनि संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न नसकेको आरोप खेपिरहेका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार जितबहादुर रानाको प्रभाव क्षेत्र सीमित रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। यसबीच सुशासन, राष्ट्रियता र जवाफदेहिताको मुद्दामा निरन्तर वकालत गर्दै आएका रवि किरण हमालले विद्रोही स्वभावका नेता रूपमा सुर्खेतमा मात्र होइन, जेनजी आन्दोलनमार्फत राष्ट्रव्यापी पहिचान बनाउन सफल भएका छन्। उनको उम्मेदवारीलाई नयाँ पुस्ताको प्रतिनिधित्व र पुरानो राजनीतिक संस्कारप्रतिको चुनौतीका रूपमा हेरिएको छ। देशभर जस्तै सुर्खेत–१ मा पनि यसपटक नयाँ पुस्तालाई निर्वाचित गर्नुपर्ने जनभावना तीव्र रूपमा बढ्दै गएको देखिन्छ। यही जनआकांक्षा र पुराना राजनीतिक समीकरणबीच सुर्खेत–१ को निर्वाचनले कुन मोड लिन्छ भन्ने चासो बढ्दै गएको छ।
Read More
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा काठमाडौँमा भव्य एकता परेड हुने |

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा काठमाडौँमा भव्य एकता परेड हुने |

काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँमा भव्य एकता परेड आयोजना हुने भएको छ। पौष २७ गते बिहान ११ बजे भद्रकालीदेखि सिंहदरबारसम्म एकता परेड निकालिने कार्यक्रम तय गरिएको छ। राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिने उक्त परेडमा हजारौँको सङ्ख्यामा नेपालीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। नेपालीहरूलाई कुनै औपचारिक प्रक्रिया बिना स्वस्फूर्त रूपमा उपस्थित भई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ। परेडमा सहभागी हुने सबैले आफ्नो भेषभूषा, संस्कृति र पहिचान झल्किने गरी सहभागिता जनाउन आग्रह गरिएको छ। विविध जाति, भाषा र संस्कृतिको प्रतिनिधित्व हुने यो एकता परेडले नेपाली समाजको बहुसांस्कृतिक स्वरूप र राष्ट्रिय ऐक्यबद्धतालाई सशक्त रूपमा प्रस्तुत गर्ने विश्वास लिइएको छ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रूपमा मनाउने क्रममा काठमाडौँ मात्र नभई देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिँदैछन्। यस अवसरमा सांस्कृतिक कार्यक्रम, दिव्योपदेश वितरण एवं वाचन तथा विविध रचनात्मक गतिविधिहरू सञ्चालन हुने जनाइएको छ। पृथ्वी नारायण शाहले निर्माण गरेको एकीकृत नेपालको भावना, राष्ट्रिय स्वाभिमान र बलिदानको सम्मानलाई केन्द्रमा राखेर परेड आयोजना गरिएको हो। यसले नयाँ पुस्तामा राष्ट्रिय चेतना अभिवृद्धि गर्नुका साथै इतिहासप्रतिको सम्मान र भविष्यप्रतिको जिम्मेवारीको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ। एकता परेडको स्वयंसेवकको रूपमा जेन्जी मुभमेन्ट नेपालले भूमिका निर्वाह गर्नेछ। प्रवक्ता विजय शाहका अनुसार नेपालको सबैभन्दा ठूलो दिन भनेकै पौष २७ गते हो, हामी विभिन्न दल समूह वा समुदायका नाममा विभाजित भएपनि सबैजना एक ठाउँमा आएर एकताको सन्देश दिन जरुरी छ।
Read More
जेन्जी आन्दोलनबाट उदाएका रवि किरण हमाल सुर्खेत–१ बाट प्रतिनिधिसभाका लागि सिफारिस |

जेन्जी आन्दोलनबाट उदाएका रवि किरण हमाल सुर्खेत–१ बाट प्रतिनिधिसभाका लागि सिफारिस |

काठमाडौँ । जेन्जी आन्दोलनबाट उदाएका युवा नेता रवि किरण हमाललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको छ। राप्रपाले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै हमाललाई पार्टीभित्र उदाउँदै गरेका प्रभावशाली र सम्भावनाशील युवामध्ये एकका रूपमा अघि सारेको जनाएको छ। पार्टीका अनुसार, समसामयिक राजनीतिक बहसमा सक्रिय उपस्थिति, वैचारिक स्पष्टता र संगठनात्मक क्षमताका आधारमा उनलाई सिफारिस गरिएको हो। एक दशकदेखि निरन्तर व्यथिति, कुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका हमाल पछिल्लो समय जेन्जी आन्दोलनमा अग्रणी भूमिकामा देखिएका थिए। उनले शासकीय स्वरूप र सार्वजनिक संस्थाहरूको पुनर्संरचनाको मुद्दालाई जबरजस्त अगाडि बढाएका थिए। युवाहरूको राजनीतिक चेतना र सहभागिता विस्तारमा उक्त आन्दोलनले खेलेको भूमिकासँगै हमालको राजनीतिक उचाइ उल्लेखनीय रूपमा बढेको विश्लेषण गरिन्छ। राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका हमाल सार्वजनिक बहसमा सशक्त प्रस्तुति र स्पष्ट दृष्टिकोणका कारण चिनिएका युवा नेता हुन्। उनको सिफारिसलाई सुर्खेतमा नयाँ पुस्ताको राजनीतिक प्रतिनिधित्व र पुस्तान्तरणको बहससँग जोडेर हेरिएको छ। आगामी निर्वाचनमा हमाल सुर्खेत–१ मा विगत तीन दशकदेखि निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग प्रतिष्पर्धामा उत्रिने सम्भावना देखिएको छ। पुस्तान्तरणको बहस तीव्र बन्दै गएको वर्तमान सन्दर्भमा राष्ट्रिय पहिचान बनाइसकेका युवा नेताका रूपमा हमालले सुर्खेत–१ मा बलियो राजनीतिक पकड जमाउन सक्ने आँकलन गरिएको छ।
Read More
शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन नगरी नेपाल अघि बढ्न सक्दैन : रवि किरण हमाल |

शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन नगरी नेपाल अघि बढ्न सक्दैन : रवि किरण हमाल |

काठमाडौँ — जय देश नेपाल द्वारा आयोजित “वर्तमान राष्ट्रिय सङ्कट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आमूल परिवर्तन नगरी नेपाल अघि बढ्न नसक्ने स्पष्ट दाबी गरेका छन्। उनले देश गहिरो संरचनात्मक संकटमा फसेको उल्लेख गर्दै यसको मूल कारण असफल शासन प्रणाली र जनताबाट विमुख हुँदै गएको निर्वाचन प्रणाली रहेको बताए। कार्यक्रममा बोल्दै हमालले भाद्र २३ गते नेपालको नयाँ पुस्ताको आह्वानमा भएको विद्रोह मुलुकलाई संकटमोचनतर्फ लैजाने ऐतिहासिक प्रयत्न भएको बताए। उनले भाद्र २४ गते देशमा भएको आगजनी र हिंसात्मक गतिविधि जेन्जी आन्दोलनबाट नभई कुनै गिरोहद्वारा नियोजित रूपमा गरिएको कुकर्म भएको दाबी गरे। नयाँ पुस्ताको विद्रोहलाई बदनाम गर्न त्यस्ता घटनाहरू गराइएको उनको आरोप थियो। उनले अब राज्यले नयाँ पुस्ताले उठाएको विद्रोहलाई स्वीकार गर्दै त्यसको राजनीतिक सन्देश बुझ्नुपर्ने आवश्यकता औँल्याए। “नयाँ पुस्ताको आवाजलाई दबाउने होइन, सुन्ने साहस राज्यले देखाउनुपर्छ,” उनले भने। हमालले शासकीय स्वरूप र निर्वाचन प्रणालीको परिवर्तनसँगै विशेषगरी न्यायालय, कूटनीतिक निकाय, निजामती प्रशासन, सुरक्षा निकाय र विश्वविद्यालय ,यी पाँच संस्थाको गहिरो पुनर्संरचना अनिवार्य रहेको बताए। उनका अनुसार यी संस्थाहरू राजनीतिक हस्तक्षेप, जडता र अविश्वासको चक्रमा फसेका छन्, जसले राज्यलाई कमजोर बनाइरहेको छ। कार्यक्रममा उनले जेन्जी विद्रोही, राजनीतिक दलका सचेत नेतृत्व, बौद्धिक वर्ग र प्रबुद्ध नागरिकहरू एक ठाउँमा उभिएर देशलाई वर्तमान राष्ट्रिय संकटबाट मुक्त गर्न साझा पहल गर्नुपर्ने आह्वानसमेत गरे। अन्तरक्रिया कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वमन्त्री सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका नेता शंकर भण्डारी, राजनीतिक विश्लेषक सौरभ, मनिषा कोइराला, भवानी राणालगायत विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकका अनुसार कार्यक्रमले वर्तमान राष्ट्रिय संकट र सम्भावित समाधानबारे गम्भीर बहसको वातावरण निर्माण गरेको छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search